१. ऐतिहासिक पृष्ठभूमि
पुर्वी नेपालको इलाम जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये जिल्लाको दक्षिणी भेगमा अबस्थित माई नगरपालिकाको वाड नं. २ मा रहेको श्री कन्काई माध्यमिक विद्यालय वि.सं. २०१७ सालमा स्थापना भएको हो । स्थानीय पवित्र कन्काई माई नदीको नामबाट नामकरण गरी स्थानीय शिक्षाप्रेमी स्व.मोहनलाल पौड्यालद्वारा जन्माइएको यो विद्यालयले यस क्षेत्रका शिक्षाप्रेमी,समाजसेवी महानुभावहरुको पहलमा विकास र विस्तार हुँदै वि.सं. २०३९ सालदेखि तत्कालीन निम्न माध्यमिक तह,वि.सं.२०४४देखि माध्यमिक तह र वि.सं. २०५७ देखि उच्च माध्यमिक तहको स्वीकृति पाई हाल कक्षा १ देखि कक्षा १२ सम्मको पठनपाठन गराउँदै आएको छ । इलाम जिल्लामा हरेक बर्ष क्भ्भ् मा सबैभन्दा बढी विद्यार्थी सहभागी गराउने सामूदायिक विद्यालयको रुपमा आफ्नो पहिचान कायम गरेको यस विद्यालयलाई स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरु, माई नगरपालिका तथा अन्य संघ संस्थाहरुबाट भौतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण सहयोग हुँदै आएको छ । शै.स. २०८० बाट प्रविधिक धार तर्फ नेपाल सरकार शिक्षा तथा मानवस्रोत विकास केन्द्रको माध्यमबाट इन्जिनियरिङ कक्षा ९ बाट सञ्चालन हुदै आइरहेको छ । यो कक्षा १२ सम्म सञ्चालन हुनेछ । माई नगरपालिकाको स्रोतकेन्द्र विद्यालयको रुपमा रहेको यो विद्यालय माई नगरपालिकाको एकमात्र उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको रुपमा रहेको गरुवा बहुमुखी क्याम्पसको मुख्य आधार पनि हो ।

२. भौगोलिक अबस्था
यस विद्यालयको पुर्वमा गरुवा खोला, पश्चिममा शित्तली बजार,उत्तरमा चिलिङ्गकोट चियाकमान र दक्षिणमा पनि गरुवा खोला नै रहेको छ । यस विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरुले गरुवा,लोदिया,माई जस्ता खोलाहरु तर्नुपर्ने भएकोले विद्यालय आवतजावतमा कठिनाई बेहोर्नुका साथै बर्षायाममा बाढीको कारण अध्ययन अध्यापनमा बाधा पुग्ने गरेको छ । यद्यपि माई र गरुवा खोलामा निर्माणाधीन पक्की पुलहरु निर्माण सम्पन्न भएपछि यसबाट राहात मिल्ने आशा गरिएको छ।

३. विद्यालय रहेको समुदायको बनोट
राई,लिम्बू,मगर,तामाड,क्षेत्री,ब्राह्मण,नेवार,कामी,दमाई,सार्की,सुनुवार,दनुवार,माझी,उराउ,कुमाल, धिमाल जस्ता विभिन्न जातजातिहरुको मिश्रित बसोबास रहेको यस क्षेत्रमा अधिकांश मानिसहरुको आर्थिक अबस्था कमजोर रहेको छ । बहुसंख्यकहरुको बसोबास झोडा क्षेत्रमा हुनु,अभिभावकको चेतनास्तर न्युन भएकोले विज्ञान र प्रविधिको विकासबाट उनीहरु टाढा रहनु, बैदेशिक रोजगारीका कारण गाँउमा पुरुषहरुको संख्या घट्दै जानु यस क्षेत्रका प्रमुख सामजिक समस्याहरु हुन् । यस विद्यालयको सेवा क्षेत्रभित्र हिन्दु,किरात,बौद्द र इसाई धर्मालम्बीहरुको बसोबास रहेको छ । यहाँ उनीहरुबीच अत्यन्त राम्रो धार्मिक सहिष्णुताका भाव देखिन्छ । यस क्षेत्रका अधिकांश मानिसहरुको पेशा खेतिपाती भए पनि आफ्नो उत्पादनबाट बर्षैभरी खान पुग्ने परिवारको संख्या अत्यन्त न्युन रहेको छ । केरा, अम्लिसो र अदुवा जस्ता नगदे बालीबाट यहाँका केही किसानहरुले सामान्य आम्दानी गरेको पाइए पनि धेरैजसोको जीविकोपार्जन ज्याला मजदुरीबाटै भएको पाइन्छ ।

४. विद्यालयको सेवाक्षेत्र
यस विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्मको पठनपाठन हुने भएकोले यस विद्यालयको सेवा क्षेत्र व्यापक रहेको छ । यसलाई कक्षा अनुसार अध्ययनरत विद्यार्थीका आधारमा निम्नानुसार निर्धारण गरिएको छ ।
कक्षा १–५ को सेवाक्षेत्र :
रातेखाडी, ज्वाली, शित्तली, गोरखे र नमस्ते चोक
कक्षा ६–८ को सेवाक्षेत्र :
रातेखाडी,ज्वाली,शित्तली,गोरखे,माझबारी,डिपुडाँडा,गोलटार,भलायोटार,तिलटार,पाल्टार,नमस्तेचोक,मस्ते, शुक्रबारे बजार, कट्टेलटार,सिजालीटार,गँगटे, बगैंचा र कवाइधाप
कक्षा ९र १० को सेवाक्षेत्र :
रातेखाडी,ज्वाली,शित्तली,गोरखे,माझबारी,डिपुडाँडा,गोलटार,भलायोटार,तिलटार,पाल्टार,लोदिया,
नमस्तेचोक,मस्ते,शुक्रबारेबजारकट्टेलटार,सिजालीटार,गँगटे,बगैंचा,कालीखोला, चेप्टी, कवाइधाप
कक्षा ११ र १२ को सेवाक्षेत्र :
मुसेखोला, हिलेखोला,सुन्धुवा,थाक्ले,खरबनी,साविक महमाईगा.वि.स. को सबै क्षेत्र तथा साविक चिसापानी गा.वि.स.को लुम्बाक र धारापानी बाहेकको सबै क्षेत्र

५. विद्यालयमा सञ्चालित कार्यक्रम
यस विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्मको औपचारिक शिक्षा साधारण धारबाट सञ्चालित छ । विद्यालयलाई प्रारम्भिक बाल शिक्षाको व्यवस्था शै.स. २०८० बाटै डस्टलेस हुने गरी विद्यालयको आफ्नो निजी स्रोतबाट सञ्चालन गरेको छ । सोही साल १४ जना विद्यार्थीहरु भर्ना समेत भएका छन् । साथै विद्यालयको लगानीमा विभिन्न खेल सामग्रीहरुको पनि व्यवस्था गरिएको छ । माई नगरपालिकाको तर्फबाट पनि खेल सामग्री र दिवा खाजाको लागि व्यवस्थापन गर्न सहयोग उपलब्ध हुँदै आएको छ ।

६. विद्यालयमा फूलबारी कार्यक्रम

यस विद्यालयमा माध्यमिक र आधारभूत गरी दुई अलग-अलग ब्लकहरु रहेका छन् । दुवै ब्लकहरुमा फुलबारी निर्माण कार्यको थालनी भएको छ ।